काठमाडौं- राष्ट्रियसभा सदस्य बामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने बताएका छन्। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि राष्ट्रियसभामा भइरहेको छलफलमा भाग लिँदै गौतमले खाद्यवस्तुमा आत्मनिर्भर हुनुपर्ने र विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषि उत्पादनको व्यवसायीकरण र औद्योगिकरण, राष्ट्रिय बजारको संरक्षण तथा आत्मनिर्भरता, सुनिश्चितभन्दा पहिले खाद्यवस्तुको निर्यातमा रोक लगाउनुका साथै विदेशबाट सम्पूर्ण खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ।’
नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि रहेको भन्दै गौतमले यदि कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने प्रतिवर्ष १० लाख जनालाई रोजगारी दिन सकिने बताए। कृषिलाई लगातार ५ वर्षसम्म पहिलो प्राथमिकतामा राखेर काम गर्दा ३० लाख भन्दा बढीले रोजगारी पाउने र अर्को ५ वर्षसम्म पहिलो प्राथमिकतामा राख्ने हो भने विदेशमा रोजगारी गर्ने सबै नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिने गौतमले दाबी गरे।
सरकारले कृषिलाई प्राथमकिता नदिएको, कृषि उपजको राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चित गर्न नसकेको भन्दै उनले चलनचल्तीमै रुमल्लिएको टिप्पणी गरे। कृषि उत्पादन बढाउन कृषिभूमिको चक्लाबन्दी गर्न सुझाव दिएका गौतमले २६ लाख हेक्टर कृषि भूमि कित्ताकाटका कारण ४ करोड टुक्रामा विभाजित भएको सरकारले अझै धेरै टुक्रा बनाउने नीति लिएको भन्दै कित्ताकाट खुला गर्ने नीतिको आलोचना गरे। ‘यो ९९ प्रतिशत नेपालीलाई गरिब र १ प्रतिशत मुठ्ठीभर व्यक्तिलाई अकुत सम्पत्ति कमाउने संरचना बनेको छ,’ उनले भने। गौतम किसान महासंघका पूर्वअध्यक्ष पनि हुन्।