काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलतर्फको बहस आज सकिएको छ।
सरकारी वकिलतर्फको बहस सकिएसँगै अब प्रतिवादीबाट कानुन व्यवसायीले बहस सुरु गर्नेछन्। जिल्ला अदालत काठमाडौं सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उनले भने, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ। अब प्रतिवादीबाट कानुन व्यवसायीले बहस गर्नुहुन्छ।’
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुन सक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए।
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ।
थुनछेक बहस आगामी ३१ जेठसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारे निर्णय लिइने बताइएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा १० जेठमा मुद्दा दायर गरिएको थियो।