काठमाडौं– भारत भ्रमणका क्रममा गेरुवस्त्र लगाएर पूजाआजा गरेपछि ‘कम्युनिस्ट’हरुको निशानामा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आध्यात्मिक सम्मेलनमा भाग लिन खप्तड पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकोप्टरमामार्फत खप्तड पुगेका हुन्।
सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडको गंगा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेको बताइएको छ। मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ। निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटीलाई ओगटेको छ।
प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत पनि खप्तड गएका छन्।
यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायत खप्तड पुगिसकेका छ। खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत आजै हेलिकोप्टरमा खप्तड पुगेका छन्।
सम्मेलनको पहिलो दिन आज बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए।
सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकी भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ। सम्मेलन २५ जेठसम्म सञ्चालन हुनेछ।
उक्त सम्मेलनमा पूर्वप्रधानमन्त्री, मन्त्री, संघीय सांसदलगायत अन्तर्राष्ट्रिय तहका आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्ति सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताए।
सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको हो। खप्तड समुद्री सतहबाट झन्डै ३ हजार ५ सय मिटरको उचाइमा छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ।