सोमबार, भदौ १, २०८३

महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित

मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं– पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ। मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो।

नेपाली महिला टोलीले मलेसियासँग पहिलो पटक हार बेहोरेको हो।  यसअघि मलेसियासँग भएका तीन टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अपराजित रहेको थियो। यस जितसँगै अन्तर्राष्ट्रिय सिरिजमा नेपालविरुद्ध पहिलो जित हात पारेको मलेसियाले १–० को अग्रता बनाएको छ। 

आजको खेलमा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको छ। मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रनको योगदान दिइन् भने हमिजाहले अविजित १२ रन बनाइन्।

त्यसैगरी इना नजवा ८ रनमा अविजित रहिन्। नेपाली टोलीकी कप्तान रुविना क्षेत्री र सीता रानामगरले समान २÷२ विकेट झारे भने कविता कुँवरले १ विकेट लिइन्। 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६.५ ओभरमा ५० रनमा समेटियो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् भने ज्योति पाण्डेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ मलेसियाका लागि नीरनुर अतिलाले ३ विकेट लिए भने ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २÷२ विकेट लिइन्। उक्त सिरिजअन्तर्गत मलेसिया र नेपालबीचको दोस्रो खेल भोलि हुनेछ। 

प्रकाशित: May 29, 2023| 15:17 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्