बुधबार, फागुन २७, २०८२

मासपुर गाउँका बासिन्दाले पहिलो पटक पाए स्वास्थ्य सेवा

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

सिमकोट- हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन्। सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन्।

National life

यसअघि कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक गाउँपालिकाबाट खटिएको टोलीले घरमै पुगेर विभिन्न सेवा प्रदान गरेको हो। यस वर्ष पहिलो पटक घरदैलो स्वास्थ्य सेवा र तरकारी किट स्थानीयवासीले पाएका छन्। गाउँपालिकाले यस वर्ष घरदैलो स्वास्थ्य जाँच अभियान सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख धनराज ढकालले बताए। गाउँपालिका केन्द्रबाट एक दिन पैदल हिँडेर स्वास्थ्यकर्मीको टोलीले मासपुर पुगेर स्वास्थ्य सेवा प्रदान गरेको प्रमुख ढकालले जानकारी दिए।

गाउँमा एक सय ५६ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण निःशुल्क रूपमा गरिएको हो। गाउँगाउँमा पुगेर सेवा प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ। त्यसैगरी, बिरामीको स्वास्थ्य परीक्षण गर्दा औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि १२ जनाको औलो रोगको नमूना संकलन गरिएको ढकालले बताए। सम्भावित औलो हुनसक्ने देखिएपछि नमुना संकलन गर्ने कार्य भएको र त्यसलाई ल्याब परीक्षण गरिने बताए।

गाउँपालिकामा बर्सेनि औलोका बिरामी देखिँदै आएका छन्। मासपुरवासीको घरदैलो स्वास्थ्य परीक्षण अभियानका क्रममा औलो रोगको नमुना संकलन गरिएको हो। स्वास्थ्य शाखाले औषधि छर्कने र झूल वितरण गर्ने काम गर्दै आएको छ।

त्यसैगरी, मासपुरका २० घरधुरीलाई तरकारी किट पनि वितरण गरिएको छ। दुई दिनसम्म सञ्चालन भएको अभियानमा स्वास्थ्यकर्मीले छाउपडी, छुवाछूत, बालविवाह, बहुविवाह, बोक्सी प्रथाविरुद्ध पनि जनचेतना फैलाइएको थियो। 

Laxmi sunrise bank
kumari

मासपुरमा सरकारी तवरबाट एउटा स्वास्थ्य संस्था र विद्यालयमात्र स्थापना भएका छन्। हालसम्म मालपोत कार्यालयमा लालपुर्जा भए पनि स्थानीयवासीको हातमा परेको छैन।

प्रकाशित: May 26, 2023| 20:02 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्