शनिबार, साउन ९, २०८३

धौलागिरी अस्पतालमा पहिलोपल्ट मेरुदण्डको शल्यक्रिया

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

बागलुङ- बागलुङको धौलागिरी अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो।

धवलागिरी अस्पतालका डा. विनित ढकाल, डा. समिर लामिछाने, डा. प्रमेश थापा, डा. राजन शर्मा, डा. अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए।

‘यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो। ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ’, उनले भने। अहिले अस्पातलमा दैनिक ४ सय हाराहारी बिरामी उपचारका लागि आउने गरेको डा. प्रधानले बताए।

यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौंलगायत ठाउँ जाने गरेका थिए। महँगो उपचारका रूपमा मानिँदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ। पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडीबाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ।

प्रकाशित: May 25, 2023| 20:32 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्