मंगलबार, भदौ १७, २०८२

स्कुल पुग्न दुई घण्टा हिँड्नु पर्दैन अब

 |  बुधबार, जेठ १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १०, २०८०

vianetvianet

सिन्धुली- सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ। रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो। यसै गरी उनले कक्षा १० सम्मको पढाइ सकाइन्।

Kumaribank

कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ। विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ।

‘साइकल चलाउनुका फाइदैफाइदा छन्। स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो। यो वातावरणमैत्री पनि छ,’ साइकल चलाउन सिक्दै गरेकी स्याङ्तानले भनिन्।

स्याङ्तानलाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ। दुःख साइकल चलाउने बाटो कच्ची भएकामा छ। तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म (एक घण्टा)को बाटो साँघुरो र कच्ची भएकाले साइकल डोर्‍याएर हिँड्नुको विकल्प नभएको उनले बताइन्। साइकल दिएको स्थानीय सरकारले अब साइकल गुडाउने बाटो सुधार गरिदिनुपर्ने स्याङ्तानको भनाइ छ।

मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राखेका मरिण–२ सिर्थौलीका सुब्बा सिंह अब साइकलमा आउजाउ गराउने सोचमा छन्। घरबाट विद्यालय पदैल आउजाउ गर्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राख्नुपरेको थियो।

Metro Mart

पालिकाले दिइएको साइकलले छोरीमात्रै होइन, अभिभावक पनि खुसी छन्। ‘छोरीसित साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो। पढेर छोरीले साइकल पाइन् भनेर हामीलाई पनि हर्ष भयो,’ सिंहले भने।

मरिणले गरेको कार्यको उनले प्रशंसासमेत गर्न भ्याए। मरिणले जस्तै अरू पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उनको सुझाव छ। साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उनको धारणा छ।

मरिण गाउँपालिकाले सुरु गरेको ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण र स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई एक लाख दिने कार्यक्रमले शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पसका प्रमुख खेमहरि बराल बताउँछन्। उच्च शिक्षामा महिलाको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए।

‘गाउँपालिकाले शनिबार साइकल दिएको भए पनि छात्रा पैदल नै विद्यालयमा आइरहेका छन्, केही दिन सिक्न समय लाग्छ। आफैँ चलाउन सक्ने भएपछि साइकलमै विद्यालय आउजाउ गर्दछन् भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बताए। उनका अनुसार स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो भने पनि खनेको छ। त्यसलाई क्रमशः स्तरोन्नति गर्दै लगिनेछ।

छात्राले एसईई दिएपछि पढाइ छाड्ने र सानै उमेरमा विवाह गर्नेको संख्या बढिरहेकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मोक्तानले बताए। यी र यस्ता कार्यक्रमले स्नातक तह उत्तीर्ण गरेर परनिर्भर नहुने गरी विवाह गर्ने किशोरीको संख्या बढ्ने उनको भनाइ छ। -रासस

प्रकाशित: May 24, 2023| 20:03 बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्