आइतबार, वैशाख २७, २०८३

इच्छाकामनामा दादुराविरुद्धको खोप अभियान सुरु

 |  आइतबार, जेठ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ७, २०८०

चितवन- जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ। 

National life

गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ र ६ मा अभियान सञ्चालन गर्न लागिएको हो। 

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ती वडामा रहेका छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो। विशेष खोप अभियानमा दुई हजार दुई सय ७० बालबालिका सहभागी हुने उनले जानकारी दिए। उनका अनुसार १३ वटा केन्द्रबाट खोप दिन लागिएको हो।

गाउँपालिकाको वडा नम्बर ५ र ६ मा चैत महिनाको अन्तिम साता दादुरा रोग देखापरेको थियो। पूर्ण खोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए। दादुरा निकै छिटो सर्ने सरुवा रोग हो। यो रोग सामान्यतया पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्ने गरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

मिजल्ड भाइरसका कारण सर्ने यो रोगले छिट्टै महामारीको रुप पनि लिन सक्ने उनले बताए। दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुन सक्ने कार्यालयले जनाएको छ।

यो भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ। यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा सङ्क्रमण गर्दछ। दादुरा रोग सङ्क्रमण भएका व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ। ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु दादुरा रोगका प्रमुख लक्षण हुन्। यसको साथै रुघाखोकी, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्ष्यण पनि देखिन सक्ने उनले बताए। 

रोगीको सम्पर्कमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण देखापर्ने गर्दछ। सङ्क्रमित व्यक्तिलाई चार दिन अगाडिदेखि र डाबर देखापरेको चार दिन पछि सम्म अर्को व्यक्तिमा सर्न सक्दछ।

प्रकाशित: May 21, 2023| 18:53 आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्