बुधबार, फागुन २७, २०८२

तुलसीपुरका शिक्षकलाई अक्षर सुधार तालिम

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाले अक्षर सुधार अभियान सुरुआत गरेको  छ। उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार तालिम प्रदान गरिएको छ।

National life

शिक्षकलाई तीन दिने तालिम प्रदान गरेपछि ती शिक्षकले विद्यालयमा विद्यार्थीलाई अक्षर सुधार गर्न सिकाउने उनले बताए।

उनले भने, ‘हामीले विद्यार्थीका अक्षर सुधारका लागि अभियान थालेका छौँ। पहिलो चरणमा तुलसीपुरका सबै विद्यालयबाट शिक्षक बोलाएर तालिम प्रदान गरेका छौँ, ती शिक्षकले विद्यार्थीलाई अक्षर सुधार गर्न लागाउनुहुनेछ।’

विद्यार्थीले ज्ञान आर्जन गरेको कुरा परीक्षामा व्यक्त गर्ने माध्यम भनेको अक्षर नै भएकाले अक्षर सुधार पनि महत्वपूर्ण रहने जनाउँदै यो अभियान चलाएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए।

उनले भने, ‘पढेर मात्रै हुँदैन, पढेको कुरा अक्षरमा उतार्नुपर्ने र लेखेको कुरा सबैले बुझ्ने हुनुपर्छ। तर हामी जति ज्ञानी भए पनि अक्षर कसैले नबुझ्ने भएमा त्यसले कुनै प्रभाव पार्दैन, त्यसैले हामीले यो अभियान अघि बढाएका हौँ।’

Laxmi sunrise bank
kumari

पहिलो चरणमा अक्षर सुधारका लागि शिक्षकलाई तालिम दिएको र त्यो कुरा व्यवहारमा उतारेको-नउतारेको कुराको विद्यालयमै गएर अनुगमन पनि गरिने उनले बताए।

शिक्षकले अक्षर सुधार कार्य एकदमै महत्वपूर्ण रहेको बताएका छन्।

मावि प्रतापकोटका शिक्षक मेघराज पोख्रेलले भने, ‘हामीले अझै पनि अक्षर लेख्न पनि जानेका रहेनछौँ, बाक्य संरचना कसरी मिलाउँदा अक्षर सुन्दर हुँदो रहेछन्, भन्ने कुरा ख्याल रहेनछ। शिक्षकले अक्षर सुधार गरेमा सोहीअनुसार विद्यार्थीलाई पनि सिकाउन सजिलो हुन्छ, त्यसैले यो कार्य एकदमै राम्रो छ।’

विद्यार्थीलाई राम्रो लेख्न भनि निर्देशन गर्ने तर कसरी राम्रो अक्षर लेख्ने भन्ने कुराको तरिका शिक्षकलाई नै थाहा नहुँने अवस्था रहेको भन्दै यो कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।

धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण हुने गरेको भन्दै अक्षर पनि शिक्षणको महत्वपूर्ण पाटो रहेको प्रशिक्षक हिमाल डाँगीले बताए।

उनले भने, ‘धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण हुनुभएको छ, भने केहीले सोचेजस्तो अंक पनि ल्याउन सक्नुभएको छैन। त्यसैले पनि अक्षर सुधार अपरिहार्य छ।’

संस्थागत विद्यालयले अक्षरलाई पनि ध्यान दिने तर, सरकारी विद्यालयले अक्षरमा त्यति ध्यान नदिँदा पनि समस्या भएको उनको भनाइ छ।

प्रकाशित: May 20, 2023| 09:56 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्