काठमाडौं– लुम्बिनी प्रदेश मुकाम दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एकआपसमा ठोक्किँदा एकको मृत्यु र २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किँदा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियारको मृत्यु भएको हो।
दुर्घटनामा उनका दुई छोरासहित २३ घाइते भएकामा १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए। बस दुर्घटना बिहान करिब पौने ७ बजे भएको उनको भनाइ छ।
गम्भीर घाइतेमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ। अन्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता गौतमले जानकारी दिए।