बिहीबार, फागुन २८, २०८२

सुनसरीमा एकैपटक २२०० बढीको निःशुल्क आँखा जाँच

 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

काठमाडौं– नेपाल नेत्रज्योति संघको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्जमा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ।

National life

नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत २ हजार १९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रक्षा पन्तले बुधबारसम्ममा १५४ बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइन्। 

१ र २ जेठमा देवानगञ्जमा सञ्चालित उक्त शिविरमार्फत दृष्टिदोष भएका ९१९ बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो। विराटनगर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले शिविरमा मोतिबिन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए।

सो अवसरमा आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीले आफ्नो घरआँगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएका थिए।

Laxmi sunrise bank
kumari

अस्पतालका प्रबन्धक कुमार पृथुले शिविरमार्फत सुनसरी जिल्लासहितका छिमेकी जिल्लाका र सीमा क्षेत्रका भारतका नागरिकसमेत लाभान्वित भएको बताए।  विराटनगर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. सुमित मिश्र र डा. प्रीति अग्रवाल नेतृत्वको टोलीले शिविरमा सेवा दिएको थियो।

नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत हाल २ आँखा अस्पताल र ३१ आँखा उपचार केन्द्र सञ्चालनमा छन्। सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत १२ लाख १३ हजार ३२६ जनाको आँखा जाँच गरी १ लाख ३१ हजार ८४६ जनाको शल्यक्रिया गरिएको थियो।

त्यसैगरी स्थापनाकालदेखि सन् २०२२ सम्म यस संस्थामार्फत १ करोड २४ लाख ३० हजार ४७६ जनाको आँखा जाँच गरी २० लाख ९४ हजार १५ जनाको शल्यक्रिया गरिएको छ।

त्यस्तै, सन् २०२२ मा एक सय ५४  निःशुल्क आँखा शिविर सञ्चालन गरी ६ हजार १३० जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रियासमेत गरिएको थियो।

पूर्वाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले पहुँच र आर्थिक अभावमा कोही पनि नागरिक दृष्टिविहीन बस्नु नपरोस् र सन् २०३० सम्म नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई विस्तार गरिरहेको जानकारी दिए। 

नेत्रज्योति संघका केन्द्रीय सदस्य एवं विराटनगर आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्मनारायण चौधरीले नेपाल नेत्रज्योति संघले सन् २०३० सम्म नेपालका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहीअनुरुप अहिले काम अगाडि बढिरहेको बताए।

प्रकाशित: May 18, 2023| 16:00 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्