बिहीबार, फागुन २८, २०८२

बागलुङमा एम्बुलेन्सको भाडामा मनपरी, मर्कामा बिरामी

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

बागलुङ-  जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा परेका छन्। सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन्।

National life

यातायात व्यवस्था कार्यालय बागलुङको अगुवाइमा स्वास्थ्य कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त बैठकले भाडादर कायम गर्ने प्रावधान भए पनि यातायात व्यवस्था कार्यालयले समयमा अगुवाइ नगर्दा भाडादर तोक्न सकिएको छैन। 

एम्बुलेन्सको भाडा मनपरी लिने गरेको गुनासो र उजुरीपछि जिल्लास्थित स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा भाडादरमा एकरुपता कायम गराउन पहल गरेको छ। ‘हामीले मात्रै भाडादर कायम गर्न सक्दैनौँं, सिडियोसापको निर्देशनपछि डिजेलको मूल्य र सडकको अवस्थासमेतको अध्ययन गरी भाडादरका विषयमा छलफल थालेका छौँ,’ स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, ‘हामीले तयार पारेको प्रस्तावित भाडा जिल्ला प्रशासन कार्यालयलाई बुझाउँदै छौं, त्यसपछि थप छलफल हुन्छ।’

यातायात व्यवस्था कार्यालयले भने एम्बुलेन्सको भाडादर तोक्ने बिषयमा स्वास्थ्य कार्यालयलेनै अगुवाइ गर्नुपर्ने बताएको छ। जिल्लास्तरीय भाडादर निर्धारण समितिले निर्णय गर्नुपर्ने भए पनि त्यसको अगुवाइ स्वास्थ्य कार्यालयले नै गर्नुपर्ने कार्यालय प्रमुख पारसिंह थापाले बताए।

जिल्लामा हाल १३ एम्बुलेन्स सञ्चालनमा छन्। सबै एम्बुलेन्सले आफ्नै तरिकाले भाडा लिने गरेकाले बिरामी मर्कामा परेका हुन्। ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारदेखि बागलुङ बजार आउँदा एम्बुलेन्सले रू छ हजारसम्म र गलकोट नगरपालिकाको मुकाम हटिया बजारदेखि बागलुङ बजार बिरामी ल्याउँदा रू आठ हजारसम्म भाडा लिने गरेका छन्। स्थानीय तहले सञ्चालन गरेका र सामाजिक सङ्घ संस्थाले सञ्चालन गरेका एम्बुलेन्सका बीचमासमेत भाडादर फरक छ। जिल्लाको दक्षिण क्षेत्र कुश्मीशेरा र बरेङमा सञ्चालनमा रहेका एम्बुलेन्समा पनि भाडाको एकरुपता छैन। 

Laxmi sunrise bank
kumari

कुश्मीशेरादेखि बागलुङ बजारसम्म २१ किलोमिटर पक्की सडकमा रू चार हजार भन्दा धेरै भाडा लिने गरेका छन्। नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेका धौलागिरि अस्पताल र तमानखोला गाउँपालिकाले सञ्चालन गरेका दुईवटा एम्बुलेन्स मात्रै तोकिएको मापदण्ड पूरा गरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले गरेको परिपत्र अनुसार एम्बुलेन्समा अक्सिजन, जिपिएस प्रणाली, बिरामी र कुरुवा राम्रोसँग सुत्न मिल्ने दुई शय्या, इसिजी मोनिटर, लगायतका २१ उपकरण तथा संरचना अनिवार्य हुनुपर्ने भनिएको छ। सरोकारवालासँग समन्वय गरेर एम्बुलेन्सको स्तरोन्नतिका लागि कार्यालयले पहिलो चरणमा स्थानीयतहसँग विवरण मागेको छ। विवरण सङ्कलन भएपछि स्तरोन्नतिका लागि पत्राचार गरिने स्वास्थ्य कार्यालयका प्रमुख शर्माको भनाइ छ।

प्रकाशित: May 14, 2023| 14:54 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्