बुधबार, भदौ ३, २०८३

सीएनएनको घुम्नैपर्ने गन्तव्य सूचीमा मुस्ताङ पनि

मुस्ताङलाई दक्षिण एसियामा घुम्नैपर्ने ठाउँमध्ये एकमात्र ठाउँको रूपमा सीएनएनले उल्लेख गरेको छ।  
 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- यस वर्ष घुम्नैपर्ने विश्वका उत्कृष्ट गन्तव्यमा नेपालको मुस्ताङ पनि परेको छ। अमेरिकी समाचार संस्था सीएनएनले जारी गरेको सूचीअनुसार सन् २०२३ मा घुम्नैपर्ने स्थानमध्ये नेपालको मुस्ताङ उपत्यका पनि हो।

मुस्ताङलाई दक्षिण एसियामा घुम्नैपर्ने ठाउँमध्ये एकमात्र ठाउँको रूपमा सीएनएनले उल्लेख गरेको छ।  

नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ। हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुराना ट्रेलहरूमध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सीएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा समावेश गरेको छ । 

पदयात्राका अतिरिक्त मुस्ताङमा पर्यटकले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। साथै छुटाउन नहुने अर्को कुरा यहाँ मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २ हजार  वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देख्न पाइनेछ ।

सीएनएनका अनुसार मुस्ताङ उपत्यका पुग्नु आफैंमा साहसिक कार्यको एक हिस्सा पनि हो। राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेट जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौंबाट स्थलमार्ग हुँदै पनि मुस्ताङ जान सकिन्छ।

म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाईमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढी छ। यस्तै अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा निस्कने पर्यटक मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ पुग्छन्। मुस्ताङ छिर्ने अधिकांश पर्यटकले मुक्तिनाथ क्षेत्र घुम्छन्। तीमध्ये केहीले उपल्लो मुस्ताङको यात्रा तय गर्छन्।

यहाँको मनोरम प्राकृतिक भूबनोट,  हिमाली जनजीवन, मुस्ताङी सभ्यता र संस्कृतिले पर्यटकलाई लोभ्याउँछ। बर्सेनि पर्यटक बढेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि बढ्दो छ। मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटककले रात बिताउने गर्छन्।
कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँमा पुग्ने गर्छन्। यातायातको सहजताले पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको होटल व्यवसायी बताउँछन्।

म्याग्दी, बेनी हुँदै बस, जिप र मोटरसाइकलबाट मुस्ताङको यात्रा तय गर्न सकिन्छ। पोखरा–जोमसोम दैनिक हवाई सेवा सञ्चालित छ।

सीएनएनको उत्कृष्ट गन्तव्य सूचीमा पोल्याण्ड, पश्चिम अष्ट्रेलिया, बेलायत, लिथुआनिया, फिजी, ब्राजिल, ग्रिस, रुवान्डा, स्वीडेन, युएइ, लाओस, स्वीट्जरल्यान्ड, कोलम्बिया आदि पनि छन्।

प्रकाशित: May 14, 2023| 10:59 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्