काठमाडौं- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी भएको प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङ्तावा शेर्पा पनि तानिएका छन्। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पुर्जी जारी गरेको हो। उनी फरार छन्। शेर्पा २०७० सालमा रामेछापबाट सांसद निर्वाचित भएका हुन्।
शेर्पाले यो प्रकरणमा पक्राउ परेकाहरुलाई भेटेर पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको नाम नपोल्न आग्रह गरेको बताइएको छ।
रकम फिर्ता दिलाउने भन्दै शेर्पाले केशव दुलाल र सानु भण्डारीलाई खाणको नाम नलिन अनुरोध गरेका थिए। यही प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पोलेपछि खाण अहिले प्रहरी हिरासतमा छन्।