बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अब कसैले पनि उपचार नपाएर मर्नुपर्दैन: स्वास्थ्यमन्त्री बस्नेत

अब कसैले पनि उपचार नपाएर मर्नुपर्दैन: स्वास्थ्यमन्त्री बस्नेत

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्य उपचार नपाई मृत्युवरण गर्न नपर्ने बताएका छन्।

हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको र अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताए।

साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उनले जानकारी दिए।

मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाए। साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने बताए।

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समीरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम बताए। उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकार समक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको उल्लेख गरे।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कान्छा लामा, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामा सहितले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित: May 14, 2023| 09:33 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्