बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • माइतीघरमा भ्रष्टाचारीलाई कारागार माग्दै नागरिक अगुवाको विरोध

माइतीघरमा भ्रष्टाचारीलाई कारागार माग्दै नागरिक अगुवाको विरोध

राजनीतिक आवरणका भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याउन र जोकसैलाई पनि कारबाही माग्दै नागरिक समाजको विरोध प्रदर्शन।
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका उपल्लो स्तरका नेता, नेतृ संलग्न भएको प्रमाण जुटिरहेका बेला नागरिक अगुवाहरुले माइतीघरमा भ्रष्टाचारविरुद्ध सरकारलाई खबरदारी गरेका छन्।

शनिबार माइतीघर मण्डलामा भेला भएका नागरिक अगुवा तथा सर्वसाधारणले राजनीतिक आवरणका भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याउन र जोकसैलाई पनि कारबाही माग्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीले करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्नेलगायत नाराअंकित प्लेकार्ड बोकेका थिए। माइतीघरमा भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागीले गानाबजानासमेत गरेका थिए।

कार्यक्रममा सहभागी रास्वपा सांसद असिम शाहले नक्कली शरणार्थी प्रकरणबारे संसद्मा पनि आवाज उठाएको बताए। उनले अब यो विषय नागरिक स्तरमा आइपुगेकाले सरकारलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याए।

नागरिकको खबरदारी सडकमा र जनप्रतिनिधिको खबरदारी सदनमा भइरहेकाले राजनीतिक नेतृत्वबाट भइरहेका भ्रष्टाचार छानबिनलाई निचोडमा लैजानुपर्ने उनको भनाइ छ।

विरोध प्रदर्शनमा नागरिक समाजमा आबद्ध विभिन्न व्यक्ति र सर्वसाधारणले पुराना राजनीतिक दलप्रतिको अविश्वासका कारण युवा नेताहरु जन्मिरहेको बताए। 

विरोध प्रदर्शनलाई समर्थन पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, हिसिला यमी, रास्वपा सभापति रवि लामिछाने, नागरिक अभियन्ता डा. गोविन्द केसी, सांसद तोषिमा कार्कीलगायत माइतीघर पुगेका थिए।

प्रदर्शनकारीले राजनीतिक स्तरबाट भएको यो घटनालाई ढाकछोप गर्न खोजिए विभिन्न दलका शीर्ष नेतृमाथि जाई लाग्ने चेतावनी दिए।

प्रकाशित: May 13, 2023| 14:35 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्