काठमाडौं– पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनः बढ्न थालेको छ। हावाको गुणस्तर मापन सूचकांक एक्यूआईका अनुसार हिजो मात्रै ललितपुर पाटनको एक्यूआई १७६, काठमाडौं कीर्तिपुरको १६३, रत्नपार्कको १६३, नारायणीको १७१ र धनकुटाको १५५ थियो।
एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ। एक्यूआई १५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ। पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआइ १५० भन्दामाथि छ। स्वास्थ्यलाई नै हानि गर्ने खाले प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन्।
प्रदूषणकै कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँमा शुक्रबार बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ।
भक्तपुर, मध्यपुरथिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेकाले यहाँको हावा अस्वस्थकर देखिएको जनाइएको छ। यी क्षेत्रको एक्युआई १५० भन्दा कम रहेको छ।
यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्ने विज्ञ बताउँछन्। गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित बन्दै गएको बताइएको छ।