काठमाडौं- देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ। कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको र अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम आंशिक बदली भएका क्षेत्रको पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज काठमाडौं उपत्यकामा पनि मौसम बदली भएको छ। तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
अहिले स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हिजोदेखि बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात शक्तिशाली चक्रवातका रुपमा परिणत भएको छ। तर यो चक्रवात उत्तर, उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेकाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाले जनाएको छ।