काठमाडौं– प्रहरीले सिंगापुर, दुबई, माल्दिभ्सलगायत मुलुकमा रोजगारी दिलाइनेदिने आश्वासन दिएर सर्वसाधारणबाट रकम ठगीमा संलग्नलाई पक्राउ गरेको छ।
प्रहरीले सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगर–१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सिर्जन निरौलालाई पक्राउ गरेको छ।
निरौलासमेतले १२ जनालाई वैदेशिक रोजगारीका लागि सिंगगापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिने प्रलोभनमा पारेर पीडितबाट पटक–पटक गरी ९५ लाख रुपैयाँ ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ।
पीडितले वैदेशिक विभागमा उजुरी दिनासाथ विभागले प्रहरीलाई पत्राचार गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीलाई उनलाई सिनामंगलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
यस्तै, माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने काभ्रेको धुलिखेल नगरपालिका–९ घर भई हाल काठमाडौं महानगर–३२ जडीबुटी नरेफाँट बस्ने ४६ वर्षीय अन्जन सिग्देललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
उनले वैदेशिक रोजगारका लागि माल्दिभ्स पठाइदिन्छु, आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारेर पीडितबाट रकम ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई नरेफाँटबाटै पक्राउ गरेको हो। सिग्देललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ।
यसैगरी दुबई पठाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम ठगी गर्ने रसुवाको कालिका गाउँपालिका–८ धुसेनी घर भई हाल काठमाडौं महानगर–३ वसुन्धारा बस्ने ३८ वर्षीय होमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
उनले वैदेशिक रोजगारका लागि दुबई पठाइदिन्छु, आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारेर पीडितबाट रकम ठगी गरेपछि विभागले प्रहरीलाई पत्राचार गरेर पक्राउ गर्न आग्रह गरेको थियो।
विभागको पत्राचारपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई वसुन्धाराबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले बताएको छ।