काठमाडौं– प्रहरीले धनकुटाको धनकुटा नगरपालिका–९ मूलघाटबाट शुक्रबार बिहान ५०० किलोग्राम गाँजा बरामद गरेको छ।
प्रहरी चौकी मूलघाटको टोलीले धरानतर्फ जाँदै गरेको को१ख ३३६७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको गाँजा बरामद गरेको धनकुटा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताए।
उनका अनुसार प्रहरीले १७ वटा बोरामा प्याक गरिएको गाँजा बिहान ५ः३० बजे बरामद गरेको हो। गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङले मिनी ट्रकमा चढिरहेका बेला चालकले गाडी भगाउन खोजेपछि लडेर घाइते भएका छन्।
देब्रे खुट्टामा चोट लागेका घाइने तामाङको धनकुटामै उपचार भइरहेको प्रहरीले जनाएको छ। मिनी ट्रकमा लोड गरिएको गाँजा सिरसिरेमा छाडेर चालक फरार भएकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
बरामद गाँजासहित ट्रकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयतर्फ लगिएको छ।