काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई नेपाली कांग्रेसले तत्काल निलम्बन नगर्ने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले खाणलाई तत्काल कुनै कारबाही नगर्ने निष्कर्ष निकालेको हो।
हिजोसमेत बसेको पदाधिकारी बैठकमा खाणमाथि गम्भीर अभियोग लागेकोले पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज उठेको थियो। तर यो प्रकरणमा खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने निष्कर्ष आजको बैठकले निकालेको हो।
‘कुनै मुद्दामा व्यक्तिलाई पक्राउ गर्नेबित्तिकै ऊ दोषी हो भन्न मिल्दैन। त्यसलाई अभियुक्तका रूपमा लिइन्छ। अदालतबाट फैसला भइसकेपछि मात्रै दोषी ठहर हुने हो। नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणबारे सरकारले निष्पक्ष छानबिन गर्नुपर्छ। दोषीलाई कुनै पनि हालतमा छोड्न हुँदैन। निर्दोष पर्न हुन्न,’ बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने। कांग्रेस नेता खाणले अनुसन्धानलाई सहयोग गरिरहेको उनले बताए।
उनले थपे, ‘हाम्रो पार्टीका नेता खाणले अनुसन्धानलाई सहयोग पुर्याउनुभएको छ। कांग्रेस दोषीलाई उम्काउने पक्षमा छैन, सत्यतथ्य छानबिन होस्। अनुसन्धानलाई सहयोग गर्ने कुरामा पार्टी एकमत छ।’
पूर्व गृहमन्त्रीसमेत रहेका खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका छन्। उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
यही प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। फरार रायमाझीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ।