पाकिस्तानी रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। बुधबार अन्तरबैंक बजारमा ग्रीनब्याक २९०.२२ रुपैयाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ।
मङ्गलबार कारोबार अमेरिकी डलर २८४.८४ रुपैयाँमा बन्द भएको थियो। बुधबार स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा ५.३८ रुपैयाँ (करिब १.८५ प्रतिशत)ले घटेर न्यून रेकर्ड भएको आधिकारिक तथ्याङ्कले देखाएको छ।
बजार विश्लेषकहरूका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा राष्ट्रिय जवाफदेहिता ब्युरोले मङ्गलबार पक्राउ गरेपछि देशभर व्यापक विरोध भएको र त्यसकै प्रभावले पैसाको अवमूल्यन भएको टिप्पणी गरिएको छ।
दक्षिण एसियाली मुलुकमा चलिरहेको राजनीतिक अस्थिरतापछि अन्तरराष्ट्रिय मुद्रा कोषको बेलआउट कार्यक्रमको पुन: शुरुवातमा आएको अनिश्चितता र विदेशी विनिमय सञ्चितिमा आएको कमीका कारण केही समयदेखि यहाँको रुपैयाँ दबाबमा रहेको छ।