काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आर्थिक वर्ष २०७८/७९को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगले ८२ राजनीतिक दललाई यस्तो निर्देशन दिएको हो।
‘आर्थिक वर्ष २०७८/८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले सात दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिइएको छ,’आयोगको विज्ञप्तिमा उल्लेख छ।
२७ वैशाखको बैठकले उक्त निर्देशन दिइएको आयोगले बताएको छ। यस्तै, आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पार्टीलाई स्पष्टीकरण सोधेको छ।
यी दलहरुले २०७७/७८ र २०७८/७९ को लेखा परिक्षण पेस नगरेको आयोगले बताएको छ। आयोगले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र पेस नगर्ने ९ वटा राजनीतिक दल र सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने १६ राजनीतिक दललाई पनि स्पष्टीकरण सोधेको छ। ती दललाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।