बिहीबार, भदौ ४, २०८३

मुकेशलाई सहिद घोषणा गरिने

 |  बिहीबार, वैशाख २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २८, २०८०

संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई सहिद घोषणा गरिने बताएका छन्।

बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मोदीले मुकेशलाई सहिद घोषणा गर्नेमा शंका नगर्न आग्रह गरे।

लोकतन्त्र प्राप्तिमा मुकेशले पुर्याएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उनले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गरे।

मन्त्री मोदीले भने, 'इतिहासमा ‘जिउँदो सहिद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो। उहाँले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहनुभयो।' सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुने गरेको  र हरेक मनिसको मृत्यु फरक फरक ढंगले हुनेगरेको उनको भनाइ थियो। 

सो अवसरमा मन्त्री मोदीलाई मुकेश प्रतिष्ठानमार्फत मुकेशलाई सहिद घोषणा गर्नुपर्ने,  उनको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेलगायत  माग प्रस्तुत गरिएको थियो। 

श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बनेपा नगरपालिका कार्यालय प्रांगणमा राखिएको थियो। श्रद्धान्जली सभामा काभ्रेपलाञ्चोकका संघीय सांसदद्वय सूर्यमान दोङ र गोकुलप्रसाद बाँस्कोटा, प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं स्थानीयवासीको उपस्थिति थियो। दिउँसो मुकेशको शवलाई नगर परिक्रमा गराई साँझ बनेपास्थित उग्रतीर्थमा अन्त्यष्टि गरिने जनाइएको छ। 

अस्पतालमा उपचारका क्रममा बुधबार साँझ निधन भएका मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका थिए। ३२ वर्षका उनको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएपछि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए
जनआन्दोलन भइरहँदा बनेपाको तीन दोबाटोमा २०६२ चैत २७ गते मुकेशको बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागेर सख्त घाइते भएका थिए।

त्यस दिनदखि उनको होस नखुल्नाका साथै बाँया हात राम्रोसँग चल्दैनथ्यो। गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो। सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा परेका मुकेशलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्यो।

प्रकाशित: May 11, 2023| 15:51 बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्