काठमाडौं- राजनीतिक दलका भ्रातृ संगठनका पदाधिकारीले विद्यार्थी हकहित, सामाजिक सरोकार र शिक्षा क्षेत्रलाई उँभो लगाउन पहल गर्नुपर्नेमा कमाउ धन्धामा लागेर निस्क्रिय रहँदै आएको आरोप लागिरहेको छ। माउ पार्टीले जे–जे भन्छन्, त्यसमा सहमति जनाउँदै संगठनको हितविपरीत काम गरेपछि राजनीतिक दलका भ्रातृ संगठनमाथि चोरऔंला ठड्याउन थालिएको छ।
सरकारमा भएका बेला सत्तारुढ आफ्नै पार्टी नागरिक हितविपरीतका काम गर्दा पनि मौनध साँधिरहेको आक्षेप भ्रातृ संगठनका पदाधिकारीमाथि लाग्दै आएको छ।
केही वर्ष अगाडिसम्म त्रिविले परीक्षा शुल्क बढाए, आफू पढ्ने कलेजमा क्याम्पस प्रमुख बदलिए र पेट्रोलिय पदार्थको मूल्य बढ्नासाथ सडकमा टायर बाल्ने प्रतिपक्ष, सत्तापक्षका विद्यार्थी संगठनहरू यतिबेला ओइलाएका छन्।
आफ्नो पार्टीको सरकार सत्तामा रहेका बेला चुँ नबोल्ने र प्रतिपक्षी हुनासाथ विरोधका स्वर उछाल्ने राजनीतिक दलका भ्रातृ संगठनका नेताहरूको नेतागिरी पछिल्लो समय बिलाएको छ। बरु पार्टी सत्तारुढ भएका बेला ठेक्कापट्टा, कमिसन आउने बाटा खोज्न भ्रातृ संगठनका नेताहरू लागिपरेको आरोप स्वयं विद्यार्थीले नै लगाइरहेका छन्।
कुनै बेला नेपालका विद्यार्थी संगठन पञ्चायती निरंकुशतालाई समेत पराजित गरेर अग्रपंक्तिमा रहेका थिए। २०३६ को जनमत संग्रह गराउन तत्कालीन राजा वीरेन्द्रलाई बाध्य पारेको गर्विलो इतिहास विद्यार्थी सगठनहरूसँग छ, जतिबेला माउ राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए।
तर पछिल्लो समय विद्यार्थी संगठन नाम मात्राका भएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका नाममा अनागरिक बनाएर आफ्नै पार्टीका नेता, नेतृहरूले करोडौं रकम असुलेको घटना बाहिरिएपछि विद्यार्थी संगठनले आँखा चिम्लिएको भन्दै सामाजिक सञ्जालमा नागरिक स्तरबाट असन्तुष्टिका स्वरहरू बाहिरिएका छन्।
नागरिक समाजको चित्त बुझाउनैका लागि भए पनि सत्तारुढ राजनीतिक दलका भ्रातृ संगठनहरू भ्रष्टाचारविरुद्ध सडकमा निस्किएका छन्। उनीहरूले जुनसुकै पार्टीका नेताहरू यो घटनामा संलग्न रहेको भए पनि कानुनी कारबाही गर्न सरकार र गठबन्धन दललाई आग्रह गरेका छन्।
सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै सडकमा निस्कनुपरेको विद्यार्थी संगठनले बताएका हुन्। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा रत्नराज्य क्याम्पसमा भ्रष्टाचारविरुद्ध लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन नदिन सरकारलाई खबरदारी गरे।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आफ्नै नक्कली शरणार्थी प्रकरणमा छानबिन सुरु भएकाले आफ्नै पार्टी (कांग्रेस) का नेता, नेतृको सहभागी रहेको फेला परे कारबाही गर्नुपर्ने पक्षमा संगठन रहेको दाबी गरे। उनले छानबिनलाई निष्कर्षमा पुर्याउन सरकार र सत्ता गठबन्धन दलबाट सहयोग हुनुपर्ने आवश्यकता औंल्याए।
अनेरास्ववियुकी महासचिव आरती लामाले अहिले सरकारले चलाएको अभियान नरोकियोस् भनेर प्रदर्शन गरिएको बताइन्। विद्यार्थीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
आजै अनामनगरस्थित संवाद डबलीमा नक्कली भुटानी शरणार्थीसम्बन्धी भ्रष्टाचार प्रकरणलगायतका विषयमा सत्तारुढ तथा प्रतिपक्ष निकट विद्यार्थी संगठनसँग छलफल गरिने नेविसंघ अध्यक्ष शेर्पाले जानकारी दिए।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले नक्कली शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेताको संलग्नता हालसम्म नदेखिए पनि सरकारको नेतृत्व गरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटैरे ज्ञापनपत्र दिइने बताइन्।
नेकपा एमाले निकट अनेरास्ववियु अध्यक्ष समिक बडालले नक्कली शरणार्थी प्रकरणमा जोसुकै लागेको भए पनि पक्राउ गर्नुपर्ने र घटनालाई सामसुम पार्न नहुने धारणा व्यक्त गरे।
यस्तै, नेकपा एस निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारविरुद्ध सरकार र सत्तारुढ नेतालाई खबरदारी गर्न सडकमा निस्कनुपरेको प्रतिक्रिया दिए।