काठमाडौं- दैलेखको आठविस नगरपालिका-६ मा पर्ने माल्या जंगलमा भएको आगलागीमा परि घाइते भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं. ६ का ३७ वर्षीय भिमबहादुर बिक रहेका छन्।
उनलाई बुधबार उपचारका लागि नेपालगन्ज लगिएको थियो। भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा उनको मृत्यु भएको उपचारमा गएका सहयोगी खगेन्द्र शाहीले जानकारी दिए।
अन्य घाइतेहरुमध्ये तीन जनाको भेरी अस्पताल र पाँच जनाको नसिंगहोममा उपचार भइरहेको छ। मिना वि.क., जुना विक, प्रकाश विक, नैना विक, जौकला विक, भैरे विक, प्रज विक, नवीन विकको उपचार भइरहेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि वडा नं. ६ को गोरेटो बाटो निर्माणका लागि गएका १० जनामध्ये आगोमा परेर नौ जना गम्भीर घाइते भएका थिए।
घाइतेमध्येका गम्भीर आगलागीमा परेका नौ जनालाई हेलिकप्टरमार्फत बुधबारनै थप उपचारका लागि नेपालगन्ज लगिएको थियो।