काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले आठ दिन हिरासतमा राख्न अनुमति दिएको छ। भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी (एनएबी)ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा अदालतले आठ दिन अनुमति दिएको हो।
नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) का डेपुटी प्रोसिक्युटर जनरल सरदार मुजफ्फर अब्बासी र विशेष अभियोजक रफिक मसुद पनि अदालतमा उपस्थित थिए। अदालतमा एनएबीको तर्फबाट सरकारी वकिल सरदार जुल्कारनैन र अनुसन्धान अधिकृत मियाँ ओमर नदिमले प्रतिनिधित्व गरेका थिए।
खान नियमित सुनुवाइका लागि अदालत उपस्थित हुने क्रममा मंगलबार अदालत परिसरबाटै पक्राउ परेका थिए। उनलाई प्रहरी प्रधान कार्यालयको विशेष अदालतमा बन्द ढोकामा हाजिर गर्नुअघि राति अज्ञात स्थानमा लगिएको थियो।
आफूलाई हिरासतमा यातना दिइएको र वासरुम प्रयोग गर्नसमेत नदिइएको खानले अदालतमा बताएका थिए।
पाकिस्तानका अर्धसैनिक बलले खानलाई गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ।