काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।
बुधबार सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
उनले भने, ‘हामीले अनुसन्धानको प्रकृया अगाडि बढाएका छौं। अनुसन्धानले माग गर्ने हदसम्म, आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरु थप अनुसन्धानको निम्ति तानिनुभएको छ, यसलाई हामी निष्कर्षमा पुर्याउँछौं।’
भ्रष्टाचार नियन्त्रण नभएसम्म देशमा समृद्धि हासिल नहुने उनको भनाइ थियो। उनले थपे, ‘सुशासन स्थापित नगरीकन, भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन बिना समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन। समृद्धिको पूर्वसर्त हो सुशासन भन्ने हाम्रो दृढ मान्यता छ।’
आजमात्रै यस प्रकरणमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। यही प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले नेता टोपबहादुर रायमाझी भने फरार छन्।