बिहीबार, भदौ ४, २०८३

नक्कली शरणार्थी बनाउने काम अन्तराष्ट्रिय अपराध हो: वाग्ले

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्राष्ट्रिय अपराध भएको बताएका छन्। उनले ट्विट गर्दै उक्त अपराधबारे संयुक्त राष्ट्रसंघका महासचिव र अमेरिकी विदेशमन्त्रीसम्मलाई मेन्सन गरेर जानकारी गराएका छन्। 

अंग्रेजीमा लेखिएको ट्विटमा भनिएको छ, ‘नेपाल पुलिसले हाल अनुसन्धान गरिरहेको यो गम्भीर अन्तर्राष्ट्रिय अपराध कुनै द्वेष बिना अघि बढ्नुपर्छ । संसारले हेर्नुपर्छ यसलाई।’ उनले आफ्नो ट्विटमा राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फ्लिप्पो ग्राण्डी, काठमाडौंस्थित अमेरिकी दूतावास, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत मेन्सन गरेका छन्।

आजमात्रै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासो दिइरहेको बताएका छन् थिए। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले भने,  'नक्कली भुटानी प्रकरणले पूरै देश तातेको छ। त्यतिमात्र नभएर अन्तर्राष्ट्रिय रुपमा पनि यो चासोको विषय छ।'

यस विषयमा अमेरिकाको अनुसन्धान निकाय एफबीआईले चासो लिएर अनुसन्धान गरिरहेको जानकारी आफूले पाएको उनले बताए। एफबीआई (फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन) संयुक्त राज्य अमेरिकाको एक सरकारी गुप्तचर संस्था र सुरक्षा एजेन्सी हो।

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि नेपाल सरकारका बहालवाला सचिव, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार, पूर्व उपप्रधानमन्त्रीका छोरालगायत १२ जना सोही प्रकरणमा पक्राउ परिसकेका छन्। एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले फरार सूचीमा राखेको छ।

यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती तथा कांग्रेस नेतृ डा. आरजु राणा देउवा, खाणकी श्रीमती तथा सांसद मञ्जु खाणसमेत मुछिएका छन्। 
 

प्रकाशित: May 10, 2023| 17:10 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्