काठमाडौं– सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा जोडिएका जुनसुकै पार्टीका नेतालाई कारबाही गरिनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी नेता नेपालले मानव तस्करीका फाइल खोलिन थालेसँगै नेताहरु भ्रष्ट भएको देखिएको बताएका हुन्।
उनले जुनसुकै पार्टीका व्यक्ति नक्कली शरणार्थी प्रकरणमा मुछिएका भए पनि कारबाहीका लागि खुट्टा नकमाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे।
देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्ने कुरा भ्रष्टाचारका काण्डले देखाइरहेको नेता नेपालले बताए। उनले भने, ‘नेपालको राजनीतिको भविष्य देखेर चिन्ता लाग्छ। यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डका फाइल खुल्न थालेका छन्। यसले देखाउँछ, नेताहरु कति मात्रामा भ्रष्ट रहेछन्। देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ, मानव तस्करीमा नेताहरुले नै अगुवाइ गर्दै आएका रहेछन्।’