काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो फेक भएको दाबि गर्दै छानबिन गरी दोषीलाई कारबाही गर्न मागसहित नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन्।
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त अडियो फेक भएको र बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै उनले बुधबार साइबर ब्युरोमा निवेदन दिएकी हुन्।
'विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् ? उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेस गरेको छु,' निवेदनमा भनिएको छ।
