बिहीबार, भदौ ४, २०८३

बजेट निर्माण प्रक्रिया मंसिरबाटै सुरु गर्न गगनको प्रस्ताव

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट निर्माण प्रक्रिया मंसिरबाटै सुरु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

बुधबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै थापाले यो प्रस्ताव अघि सारेका हुन्। 

उनले भने, ‘कात्तिकमा स्रोत समितिको बैठक राखौं, खर्चको सिमाना निर्धारण गरौं। मंसिरमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्ताव गरियोस्। एक महिना संसद्‍मा छलफल गरौं। पुसमा संसद्‍बाट पारित भएको सिद्धान्तका आधारमा मन्त्रालयले सिलिङ र मार्गदर्शन पाओस्। माघबाट मन्त्रालयबाट प्राप्त कार्यक्रमसहित संसद्‍मा आओस्। हामी छलफल गर्छौं र अर्थ समितिलगायत अन्य विषयगत समितिमा पठाउँछौं।’ 

त्यसपछि बजेट निर्माण प्रक्रिया अर्थ मन्त्रालयबाट सुरु हुनुपर्ने थापाले बताए। ‘यो सँगसँगै बजेट कार्यान्वयनका लागि जुन ऐनहरु चाहिन्छ, त्यो पनि चैतमा संसद्‍मा प्रस्तुत हुन्छ। चैत-वैशाखमा हामी नीति तथा कार्यक्रमहरु मात्र पारित गर्दैनौं। यो बजेट कार्यान्वयनका लागि चाहिने ऐननियम छ त्यो पनि हामी पारित गर्छौं, गर्न सकिन्छ,’ उनले भने।

स्विडेन, न्युजिल्यान्डलगायत देशको उदाहरण दिँदै उनले बजेट निर्माण प्रक्रियालाई चुस्त बनाउनुपर्ने प्रस्ताव राखे।

संसद्‍मा भइरहेको बजेटसम्बन्धी छलफल श्राद्धमा बिरोलो बाँधेजस्तो मात्र भएको टिप्पणी पनि उनले गरे। केही दिनमा नै बजेट छापिन लागेको तर अति ढिलो गरी संसद्ले छलफल थालेको भन्दै थापाले यस्तो टिप्पणी गरेका हुन्।

सिद्धान्ततः संसद्ले पारित गरेको बजेटका सिद्धान्त र प्राथमिकताका आधारमा नयाँ वर्षको बजेट बनाउनुपर्ने भए  पनि मन्त्रालयहरूको बजेट लक भइसकेको अवस्थामा संसद्ले प्रतिवेदन बनाउने गृहकार्य गरेको भन्दै संसद्‍मा भएको उनले छलफल आगामी वर्षको बजेटसँग नजोडिने दाबी गरे। 'यो श्राद्धमा बिरालो बाँधेजस्तै भयो। यसलाई हामीले बदल्नुपर्छ, बदल्न सकिन्छ,’  उनले भने।

अहिलेको व्यवस्थाअनुसार वैशाख तेस्रो सातामात्र बजेट अधिवेशन बोलाइन्छ र बजेट निर्माणको प्रक्रिया सुरु हुन्छ। बजेट भने जेठ १५ गते सार्वजनिक गर्ने व्यवस्था संविधानमै छ।

प्रकाशित: May 10, 2023| 13:29 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्