बिहीबार, भदौ ४, २०८३

इमरान पक्राउपछि भड्केको हिंसामा ६ जनाको ज्यान गयो

इमरान नेतृत्वको पाकिस्तान तारिखे इन्साफ पार्टीका कार्यकर्ताहरु नाराबाजी, तोडफोड तथा आगजनीमा उत्रिएका छन्।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

पाकिस्तानको अर्धसैनिक बलले त्यहाँका भूतपूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेसँगै हिंसात्मक प्रदर्शन सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इमरानको पक्राउसँगै सुरु भएको प्रदर्शनमा हालसम्म ६ जनाको मृत्‍यु भएको छ।

देशभर इन्टरनेट सेवा अवरुद्ध गरिएको छ। इमरान नेतृत्वको पाकिस्तान तारिखे इन्साफ पार्टीका कार्यकर्ताहरु नाराबाजी, तोडफोड तथा आगजनीमा उत्रिएका छन्। कार्यकर्ताहरूले रावलपिन्डीस्थित सेनाको मुख्यालय, लाहोरस्थित गभर्नर हाउस, आर्मी कमाण्डर तथा अन्य सैनिक पदाधिकारीहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन्।
मंगलबार पक्राउ परेका इमरान खानलाई आज अदालतमा पेश गरिनेछ। उनलाई अनुसन्धान एजेन्सी एनएबीको आदेशमा पाकिस्तानी रेन्जर्सले पक्राउ गरेपछि उनलाई सोधपुछका लागि रावलपिन्डीस्थित एनएबी मुख्यालयमा सारिएको थियो।

पूर्वप्रधानमन्त्रीलाई मुद्दाको सुनुवाइका लागि एनएबी अदालत वा न्यायिक परिसरमा नभई इस्लामावाद प्रहरी मुख्यालयमा लगिने बताइएको छ। पाकिस्तान सरकारले इमरानको ज्यान खतरामा पर्न सक्ने भन्दै यस्तो निर्णय गरेको बताएको छ। अल कादिर विश्वविद्यालय घोटाला प्रकरणमा पक्राउ परेका खानलाई अझै ४–५ दिन हिरासतमा राखिने बताइएको छ।

खान पक्राउ परेको खबर आएपछि पाकिस्तानको सेयर बजारमा पनि उथलपुथल आएको छ। मंगलबार सेयर बजार चार सयभन्दा बढी अंकले घटेको छ। देशको राजनीतिक-आर्थिक अवस्था खराब रहेकै बेला खानको गिरफ्तारी भएपछि सेयर बजारमा पहिरो गएको हो। खान पक्राउ परेको खबर आउनेबित्तिकै सेयर बेच्नेहरू ह्वात्तै बढेका थिए।

खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मंगलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको हो। महिनौं लामो राजनीतिक संकटपछि उनको गिरफ्तारी भएको हो। पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर खानलाई उनको हत्याको षड्यन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि पक्राउ गरिएको हो।

स्थानीय टिभी च्यानलमा प्रसारित भिडियोमा गत वर्ष हत्या प्रयासका क्रममा गोली लागेर घाइते भएका खानलाई इस्लामावाद उच्च अदालत परिसरभित्र अर्धसैनिक रेन्जरले बख्तरबन्द कारमा हातपात गरेको देखिएको छ। पीटीआईका अधिवक्ता अली बुखारीले भने, 'जब हामी अदालतको बायोमेट्रिक कक्षमा उपस्थित हुन पुग्यौं, दर्जनौं रेन्जरहरूले हामीमाथि आक्रमण गरे । उनीहरूले उहाँलाई कुटपिट गरे र घिसार्दै बाहिर निकाले,' अधिवक्ता बुखारीले एएफपीसँग भने।

सन् २०१८ मा सत्तामा खानको उदयलाई समर्थन गर्ने तर गत वर्ष उनलाई सत्ताच्युत गर्ने संसदको अविश्वासको प्रस्तावअघि समर्थन फिर्ता लिएको शक्तिशाली सेनासँग खानको सम्बन्ध कति बिग्रिएको छ भन्ने कुरा सोमबार अबेर रातिको घटनाले स्पष्ट पारेको छ।

प्रकाशित: May 10, 2023| 12:07 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्