बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • यौन दुर्व्यवहारमा ट्रम्प दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

यौन दुर्व्यवहारमा ट्रम्प दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारमा दोषी पाइएका छन्। न्युयोर्कको एक अदालतले उनलाई दोषी ठहर गरेको हो।

न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै ट्रम्पले पीडितलाई क्षतिपूर्तिबापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो।

एक म्यागेजिनकी लेखिका जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। साथै उनले आफ्नो मानहानि समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन्। सोही मुद्दामा ट्रम्प दोषी ठहरिएका हुन्।

ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको पनि केरलको आरोप थियो। तर बलात्कार भने पुष्टि भएन, यौन दुर्व्यवहारमा मात्र उनी दोषी ठहरिएका हुन्। 

यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ। ट्रम्पले सामाजिक सन्जालमार्फत प्रतिक्रिया दिँदै अदालतको फैसला अपमानजनक भएको बताएका छन्। उनले ती महिलालाई आफूले नचिन्ने समेत दाबी गरेका छन्।

यसैगरी पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले जारी गरेको वक्तव्यमा ट्रम्पविरुद्धको अभियान अन्तर्गत अदालतको यो फैसला आएको भन्दै यो राजनीतिबाट प्रेरित भएको टिप्पणी गरिएको छ। फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको योजना रहेको बीबीसीले जनाएको छ।

पोर्नस्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबाबमा राखेको अभियोगमा पनि ट्रम्पले फौजदारी मुद्दा खेपिरहेका छन्।

प्रकाशित: May 10, 2023| 06:37 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्