बिहीबार, भदौ ४, २०८३

खानको गिरफ्तारीपछि पाकिस्तान अशान्त

प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर बालेका छन्। पार्टीका अधिकांश नेताहरूले आ–आफ्नो क्षेत्रमा पुगेर जनतालाई घरबाहिर आएर प्रदर्शन गर्न आग्रह गरेका छन्।
 |  बुधबार, वैशाख २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २७, २०८०

पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तान अशान्त बनेको छ।

भ्रष्टाचारको आरोपमा खानलाई अदालतबाटै पक्राउ गरिएपछि उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का कार्यकर्ता र समर्थकहरूले देशव्यापी रूपमा प्रदर्शन थालेका छन्।

प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर बालेका छन्। पार्टीका अधिकांश नेताहरूले आ–आफ्नो क्षेत्रमा पुगेर जनतालाई घरबाहिर आएर प्रदर्शन गर्न आग्रह गरेका छन्।

देशका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडपको खबर आएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी ढुंगा प्रहार गरेपछि प्रहरीले पनि अश्रुग्यास र पानीको फोहोरा हानेको छ। प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ।

यस्तै खान पक्राउ परेको खबर आएपछि पाकिस्तानको सेयर बजारमा पनि उथलपुथल आएको छ। मंगलबार सेयर बजार चार सयभन्दा बढी अंकले घटेको छ। देशको राजनीतिक-आर्थिक अवस्था खराब रहेकै बेला खानको गिरफ्तारी भएपछि सेयर बजारमा पहिरो गएको हो। खान पक्राउ परेको खबर आउनेबित्तिकै सेयर बेच्नेहरू ह्वात्तै बढेका थिए।

खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मंगलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको हो। महिनौं लामो राजनीतिक संकटपछि उनको गिरफ्तारी भएको हो। पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर खानलाई उनको हत्याको षड्यन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि पक्राउ गरिएको हो।

स्थानीय टिभी च्यानलमा प्रसारित भिडियोमा गत वर्ष हत्या प्रयासका क्रममा गोली लागेर घाइते भएका खानलाई इस्लामावाद उच्च अदालत परिसरभित्र अर्धसैनिक रेन्जरले बख्तरबन्द कारमा हातपात गरेको देखिएको छ। पीटीआईका अधिवक्ता अली बुखारीले भने, 'जब हामी अदालतको बायोमेट्रिक कक्षमा उपस्थित हुन पुग्यौं, दर्जनौं रेन्जरहरूले हामीमाथि आक्रमण गरे । उनीहरूले उहाँलाई कुटपिट गरे र घिसार्दै बाहिर निकाले,' अधिवक्ता बुखारीले एएफपीसँग भने।

खानलाई कहाँ लगिएको हो भन्नेबारे केही खुल्न सकेको छैन। खानको हत्याको षड्यन्त्र रचेको आरोप लगाएपछि सेनाले उनलाई ‘आधारहीन आरोप’ नलगाउन चेतावनी दिएको एक दिनपछि खानलाई पक्राउ गरिएको हो।

सन् २०१८ मा सत्तामा खानको उदयलाई समर्थन गर्ने तर गत वर्ष उनलाई सत्ताच्युत गर्ने संसदको अविश्वासको प्रस्तावअघि समर्थन फिर्ता लिएको शक्तिशाली सेनासँग खानको सम्बन्ध कति बिग्रिएको छ भन्ने कुरा सोमबार अबेर रातिको घटनाले स्पष्ट पारेको छ।

प्रकाशित: May 10, 2023| 06:24 बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्