काठमाडौं- सरकारले विदेशबाट आउने नेपाली नागरिकले दुइटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गरेर दुइटा मोबाइल साथमा ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।
यसअघि एउटामात्रै मोबाइल ल्याउन पाउने व्यवस्था थियो। त्रिभुवन विमानस्थलमा मोबाइल खोसिने गरेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यो समस्या समाधान गर्न निर्देशन दिएका थिए।
मन्त्रिपरिषद्को यो निर्णय लागू भएपछि अब आफूले चलाइरहेको मोबाइल र अर्को थप एक मोबाइल ल्याउन पाइनेछ।
सञ्चार र श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरी छिट्टै यो व्यवस्था लागू गरिने सञ्चारमन्त्री शर्माले बताइन्। साथै मन्त्रिपरिषद् बैठकले एमडीएमएस पनि लागू गर्ने निर्णय गरेको छ।