बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई पक्राउ, टाप कसेका टोपबहादुर भेटिएनन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई पक्राउ, टाप कसेका टोपबहादुर भेटिएनन्

 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाई करोडौं रुपैयाँ कुम्ल्याउन खोज्ने गिरोहका थप दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुईलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन्। 

यो प्रकरणमा प्रहरीले यी दुईसहित १० जनालाई पक्राउ गरिसकेको छ भने एमाले सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजिरहेको छ। 

आज प्रहरी रायमाझीको घरमा पनि पुगेको थियो। ललितपुरको सातदोबाटोमा रहेको रायमाझीको घरमा उनी भने भेटिएनन्। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। 

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ। उनी भारतको लखनउ पुगेको हुन सक्ने आशंकामा केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत परिचालन भएको छ। 

पक्राउ पुर्जी जारी हुँदा उनी अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि थिए भने एमालेबाट सांसद निर्वाचित भएर पछि सभामुख बनेका देवराज घिमिरे सोही कार्यक्रमका प्रमुख अतिथि।

आफूविरूद्ध पुर्जी जारी भएको खबर आएपछि रायमाझीले काठमाडौं आएर अनुसन्धानलाई सघाउने बताएका थिए। उनले प्रहरीलाई नै सम्पर्क गरेर आफैं हाजिर हुने बताएका थिए तर सम्पर्कमा नआएर टाप कसे।

यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन्, जसमध्ये टोपबहादुरकै छोरा सन्दीप पनि एक हुन्। 

प्रकाशित: May 09, 2023| 18:02 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्