आइतबार, असोज ५, २०८२

पोखरा महानगरको प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौताः २२० दिन विद्यालय सञ्चालन अनिवार्य

प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको हो।
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

पोखरा– सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरले प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता गरेको छ। विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरेको हो।

Kumaribank

संघीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजनासमेतको मर्मलाई आत्मसात् गरी महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग २८ बुँदामा सम्झौता गरिएको छ।

महानगरका प्रमुख धनराज आचार्य र सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षको रोहबरमा महानगरबाट शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य र विद्यालयका प्रध्यानाध्यापकले कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरे।

सम्झौताअनुसार आधारभूत तहमा विद्यार्थीको भर्ना र टिकाउ दरमा वृद्धि, शैक्षिक सत्रभर २२० दिन विद्यालय सञ्चालनसहित कम्तीमा २९२ दिन पठनपाठनको सुनिश्चितता, विद्यालयमा शिक्षक पदपूर्ति रिक्त भएको कम्तीमा ३० दिनभित्र गरिसक्नुपर्नेछ।

यसैगरी सबै प्रध्यानाध्यापकले पाँचवर्षे विद्यालय सुधार योजना, एकवर्षे शिक्षक शिक्षण सुधार योजना र एकवर्षे विद्यार्थी सिकाइ सुधार योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेछ।

Metro Mart

विद्यार्थीलाई किताब केन्द्रित सिकाइभन्दा पनि परियोजनात्मक कार्यमा आधारित शिक्षण सिकाइका क्रियाकलाप सञ्चालन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सामाजिक परीक्षण समिति समयमा गठन गर्ने, महानगरले तयार गरेको स्थानीय पाठ्यक्रम केन्द्रीय शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, समयमा पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउने, आधारभूत शैक्षिक सामग्री उपलब्ध गराउनेलगायत सम्झौतामा उल्लेख छ।

करारनामा गर्ने प्रधानाध्यापकले चालू शैक्षिक सत्रको वैशाखभित्र स्पष्ट कार्ययोजना तयार गर्नुपर्नेछ। सम्झौतामा उल्लिखित कार्यको चौमासिक समीक्षासहित प्राप्त हुन नसकेका लक्ष्यको हकमा महानगरका तर्फबाट कार्ययोजना बनाई सम्झौता कार्यान्वयन, सहजीकरण र अनुगमन संयन्त्रको विकास गरिने महानगरले जनाएको छ।

महानगर प्रमुख आचार्यले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारको विकल्प नभएको बताए। अर्बौं खर्च भइरहेको शैक्षिक क्षेत्र सबैभन्दा धेरै आलोचनाको सिकार बन्नु गम्भीर चिन्ताको विषयमा भएको भन्दै उनले प्रअहरूसँग गरिएको कार्यसम्पादन सम्झौताले यसमा सुधार ल्याउने विश्वास व्यक्त गरे।

महाशाखा प्रमुख आचार्यले विद्यालयमा विद्यार्थीको पहुँच सुनिश्चिततासहित टिकाउ दर बढाउन पनि सम्झौता गर्नु आवश्यक रहेको बताए। विद्यालय शिक्षा सुधारका लागि पोखरा महानगर प्रतिबद्ध रहेको बताउँदै उनले देशमै पहिलोपल्ट प्रधानाध्यापकको सेवा–सुविधा वृद्धि गरी हौसला प्रदान गरेको उल्लेख गरे।

महानगरले चालू शैक्षिकसत्रदेखि लागू हुने गरी सामुदायिक विद्यालयका प्रअहरूको सेवा सुविधा वृद्धि गरेको छ। प्राथमिक तहमा २ हजार, आधारभूतमा ३ हजार र माध्यमिक तहका प्रअको ५ हजार सुविधा थप गरिएको महानगरले जनाएको छ।

प्रकाशित: May 09, 2023| 15:01 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्