काठमाडौं– काला कोटधारीहरुको संस्था नेपाल बार एसोसिएसनले कानुन दिवस अवसरमा नागरिक तथा सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ।
मंगलबार बार अध्यक्ष गोपालकृष्ण घिमिरले जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकार कायम गर्नुपर्ने उल्लेख छ।
‘कानुन व्यवसायीले जिम्मेवारी वहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा आजको दिनमा प्राप्त होस्’, शुभकामना सन्देशमा भनिएको छ।
नागरिक तथा आमसेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय एवं न्यायमा सहज पहुँच सबैको सरोकारको विषय भएकाले न्यायापालिका स्वतन्त्र, निष्पक्ष र सक्षम भए मात्र विधिको शासन, लोकतन्त्र र मानवाधिकारले सार्थकता पाउने सन्देशमा उल्लेख छ।
‘न्यायपालिकामा विकृति, विसंगति र भ्रष्टाचार व्याप्त रहेको भन्ने वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको प्रतिवेदन र बारको सहभागितामा तयार हरिकृष्ण कार्कीको प्रतिवेदनले उजागर गरेको छ’, सन्देशमा भनिएको छ, ‘यसरी उजागर गरिएका विकृति, विसंगति र भ्रष्टाचारको निर्ममतापूर्वक अन्त्य गर्न सकिए मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन जाने र कानुन दिवस मनाउनुको पनि सार्थकता सिद्ध हुन्छ।’
बारले लामो अवधिसम्म आन्दोलन गरेको र सोही विषयलाई हालको कार्यसमितिले स्वामित्व ग्रहण गरी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको अभियानअन्तर्गत विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य, बिचौलियाद्वारा न्याय किनबेच हुन्छ भन्ने कुराको विरोधका साथै प्रधानन्यायाधीश नियुक्तिसमेतको माग राखी नरन्तर अभियानमा रहेको सन्देशमा उल्लेख छ।
स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवाधिकारको संरक्षण र प्रवद्र्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत सन्देशमा गरिएको छ।