बिहीबार, भदौ ४, २०८३

केरलामा डुंगा डुब्दा २२ जनाको ज्यान गयो

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

केरला- भारतमा पर्यटक चढेको डुंगा डुब्दा २२ जनाको मृत्यु भएको छ। भारतको दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा ३० जनाभन्दा यात्रु बोकेको डबल डेकर डुंगा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण स्पष्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्। आइतबार रातभर डुबेको डुंगा र वरपर बाँचेकाहरूको खोजी सुरू गरेका र खोजी सोमबार पनि जारी रहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ। ६ जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। उद्धार कार्य जारी छ।

दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ। पति र छोरीसँगै डुंगामा रहेकी रजिसाले डुंगामा सवार अधिकांश यात्रु बालबालिका रहेको र यात्राका क्रममा डुंगाबाट धुवाँ निस्केको बताइन्।

डुंगामा ठोक्किएर घाँटीमा चोट लागेकी रजिसाले लाइफ ज्याकेट लगाएका कारण आफूहरू बाँच्न सकेका बताइन्। उनले आफू र आफ्नो परिवारका लागि तीन वटा लाइफ ज्याकेट ल्याइएको र डुंगाको माथिल्लो डेकमा रहेका बालबालिकालाई चार वटा ज्याकेट दिइएको बताइन्।

उनले आफू घटनाबारे भनिन्, ‘म र मेरो बच्चाको अगाडि लडेँ र पानीमा डुबेँ। डुंगा पानीमा खसेका मानिसहरूको माथिबाट पल्टियो। डुंगामा अधिकांश बालबालिका थिए।’

एनडिटिभीका अनुसार राष्ट्रिय विपद् प्रतिकार्य बल र भारतीय तटरक्षक बलका कर्मचारीसहित उद्धार टोलीले पानीमुनिको क्यामेरा प्रयोग गरेर हराइरहेकाहरूको खोजी गरिरहेका छन्। राज्यको विपक्षी कांग्रेस पार्टीका नेता भीडी सतीसनले दुर्घटना हेलचक्र्याईँका कारण भएको भन्दै यसको छानबिन गर्न माग गरेका छन्।

केरलाका खेलकुद तथा मत्स्यपालन मन्त्री भी अब्दुरहिमानले मृत्यु हुनेमा अधिकांश विद्यालय बिदामा रहेका बालबालिका रहेको बताएका छन्। 
- रासस
 

प्रकाशित: May 08, 2023| 19:35 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्