बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • खान-बच्चन र अम्बानीका छिमेकी, जो झुपडीमा बसेर महलको सुखदुःखमा एकाकार हुन्छन्

खान-बच्चन र अम्बानीका छिमेकी, जो झुपडीमा बसेर महलको सुखदुःखमा एकाकार हुन्छन्

यो कथा फरक पात्रको बारेमा छ, जो न महानायक हुन् नत कुनै गन्यमान्य। तर, बलिउडका महानायक र धनाढ्य व्यक्तिहरुसँग उनीहरुको अदृश्य तार जोडिएको छ। जसको बारेमा ती ‘महान’हरुलाई हेक्का पनि हुँदैन।  
 |  मंगलबार, वैशाख २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २६, २०८०

यो कथा फरक पात्रको बारेमा छ, जो न महानायक हुन् नत कुनै गन्यमान्य। तर, बलिउडका महानायक र धनाढ्य व्यक्तिहरुसँग उनीहरुको अदृश्य तार जोडिएको छ। जसको बारेमा ती ‘महान’हरुलाई हेक्का पनि हुँदैन।  

बलिउडका सदावहार चर्चित अनुहार शाहरुख खान, सलमान खान, अमिताभ बच्चन अनि धनाढ्य व्यापारी मुकेश अम्बानीजस्ता नाम भएका हस्तीहरुका गुमनाम छिमेकीहरुको जीवन भने त्यति सहज छैन। भारतको मुम्बई पुग्ने जो कोहीलाई अमिताभ बच्चनको घर हेर्न मन लाग्छ। शाहरुख, सलमानजस्ता महानायकलाई एक निमेष हेर्नका लागि घण्टौं कुर्नेहरुको संख्या पनि ठूलो छ।

मुम्बई सहरको प्रायः प्रत्येक गल्लीमा एउटा न एउटा कलाकार बस्छ। यहाँ सानादेखि ठूला, नाम चलेका देखि संघर्षरत कलाकारहरुको ठूलो भीड छ। त्यही भीडको पछाडि छन् यी हस्तीका छिमेकी जो उनीहरुको दुःखमा दुःखी र खुशीमा खुशी हुने गर्छन्। 

शाहरुख र मन्नतको सेरोफेरो
मुम्बईमा शाहरुख खानको भव्य बंगलो छ, जसलाई मन्नत भनेर चिनिन्छ। मन्नत अगाडि हजारौंको संख्यामा उनका प्रशंसकहरु शाहरुख–शाहरुख भनेर चिच्याइरहेका हुन्छन्। यो दृश्य प्रायः प्रत्येक दिन देख्न सकिन्छ। 

उनीहरुलाई नियन्त्रणमा राख्न प्रहरी नै खटाउनु पर्छ। शाहरुख आफ्ना ती प्रशंसकहरुलाई निराश भने पार्दैनन्। दिनभरि उभिरहेका आफ्ना प्रशंसकहरुलाई हात हल्लाउन उनी एकछिन कौसीमा देखा पर्छन्। उनी देखिनुको खुशी चर्को सुनिन्छ भीडमा। आफ्ना प्रशंसकहरुलाई विशेष हुने आभाष गराउँदै उनी सलाम गर्छन्, फ्लाइङ किस फाल्छन्।

ganeshpur1683633768.jpgमन्नत अगाडिको गणेशपुर गल्ली
इद, जन्मदिन वा कुनै चलचित्रको रिलिजअघि उनी साँझ ४ बजेतिर, नभए राति पनि देखा पर्छन्। जति व्यस्त भए पनि आफ्ना प्रशंसकलाई हात हल्लाएर सम्बोधन गर्छन्।
यति हो उनको उपस्थिति तर उनको फोटो र भिडियो खिच्ने, उनको घरको अगाडि सेल्फी लिनेदेखि प्रत्यक्ष शाहरुखलाई देख्न पाउनु नै ठूलो सौभाग्य ठान्नेहरुले सधैं घेरिएको हुन्छ मन्नत। 

प्रशंसकलाई अभिवादन गरेपछि शाहरुख आफ्नो सेतो बंगलोभित्र पस्छन्। वास्तवमा शाहरुखका पछाडि उभिएका उनका असंख्य प्रशंसक र ती प्रशंसकका पनि पछाडि उभिएकाहरुको कथा हो यो।

शाहरुखको घरको अगाडि गणेशनगर इलाका छ। सधैं हजारौं बत्तीले चम्किरहने मन्नतको  उज्यालो मुन्तिरको गहिरो अँध्यारोमा समय बिताउँछ यो बस्तीले। गणेशनगरमा झण्डै १ सय वटा घर छन्। एउटा घरको क्षेत्रफल एक कलाकारको एउटा कार अटाउने जत्तिको मात्र हुन्छ। 

शाहरुखको घर हेर्न आउने हजारौं प्रशंसकलाई खानेकुरा बेचेर आफ्नो छाक टार्छन् गणेशनगरका बासिन्दा। यही कमाइले उनीहरु छोराछोरी पढाइरहेका छन्।

मन्नतको ढोका अगाडि समुद्र छेउमा १२ वर्षिया पार्वती मकै बेच्छिन्। छेवैमा ह्विलचेयरमा उनको भाइ बसेको छ। जो हिँड्न सक्दैन तर बसेर भए पनि दिदीलाई टर्चको बत्तीले उज्यालो प्रदान गरिरहेको हुन्छ। झारखण्डबाट मुम्बई आएर बसेको पार्वतीको परिवार गणेशनगरमा २२ वर्षदेखि बसिरहेको छ।

पार्वती बिहान विद्यालय जान्छिन् र फर्केपछि मन्नत अगाडि आएर शाहरुखका प्रशंसकहरुलाई मकै बेच्छिन्। यो उनको नियमित दिनचर्या हो। पार्वतीकी आमालाई सोधियो– मानौं, शाखरुखले तिम्रो कुरा सुनिरहेका छन्। तिमी केही भन्न चाहन्छौ ? उनले  भनिन्, पसल लगाउँदा सबेले हैरान पार्छन्। केही मद्दत भए राम्रो हुन्थ्यो, यत्रो बच्चा लिएर म कहाँ जानु?

मुम्बईमा असमानता भन्ने कुरा प्रत्येक ठाउँमा देख्न सकिन्छ। हाउजिङ प्रपर्टी वेबसाइटको अनुमानअनुसार शाहरुखको घर दुई सय करोडको हो। एकातिर पाँचतारे होटल र आलिसान महलहरु छन् भने अर्कोतर्फ महिनामा पाँच हजार भाडा तिरेर बसेका परिवारको असन्तुलित जीवन।

शाहरुखको छिमेकी हुनुको आनन्द
शाहरुखको छिमेकी हुन पाउनुमा औधी रमाएका छन् त्यहाँका बासिन्दा। छत्तिसगढको दन्तेवाडबाट श्रीमानसँग मुम्बई आएकी गंगा सिंह उनी आउनु भन्दा अगाडिदेखि यस इलाकामा छिन्। गणेशनगरमा बस्ने अर्का इब्राहिम भन्छन्– यस बस्तीमा बस्दा आफू पनि धनाढ्य भएको आभाष हुन्छ। 

कलाकारहरु आउँदा–जाँदा होस् वा साइकल चलाउँदा देखिने गरेको उनीहरु बताउँछन्। शाहरुखका छोरा आर्यन जेल पर्दा उनका छिमेकी पनि दुःखी भएका थिए। गंगा सिंह भन्छिन्– आर्यनसँग जे भयो, त्यो गलत हो। म आफ्नो कुलदेवीसँग उसको लागि प्रर्थना गर्ने गर्थें।

salman galaxy1683633934.jpgसलमान खानको घर ग्यालेक्सी
शाहरुखको घरभन्दा केही पर छ सलमान खानको निवास, जुन ग्यालेक्सी नामले चिनिन्छ। यो बाहिरबाट हेर्दा यति साधारण छ कि सलमानको घर भनेर पत्याउन गाह्रो पर्छ। उनको घरको अगाडि केही साधारण घरहरु छन्, जहाँ क्याथोलिकहरु बस्छन्। सलमानको नयाँ चलचित्रको रिलिज अथवा उनको जन्मदिन, इदजस्ता पर्वहरुमा यहाँ हजारौंको संख्यामा प्रशंसक जम्मा हुन्छन्। उनका छिमेकीहरु यतिमै खुशी छन्। सलमानको घर अगाडि नरिवल–पानी बेच्नेहरुले पनि तिनै प्रशंसकको भरमा गुजारा चलाउँदै आएको बताउँछन्। 

एक्ला महानायक बच्चन 
amitav niwas1683634041.jpgअमिताभको निवास जलसा अगाडि प्रशंसक
छिमेकीको मामिलामा अमिताभ बच्चन भने एक्ला छन्। अमिताभको जुहूस्थित जलसा बंगलोको छेउमा बैंक छ। बंगलोको छेउमा पानी भरिएको एउटा माटोको भाँडा राखिएको हुन्छ, जो उनका प्रशंसकका लागि राखिएको हो। अमिताभका कतिपय प्रशंसकहरु आफू अमिताभ बच्चनको घरको पानी खाइरहेको सामाजिक सञ्जालमा लाइभ पनि गरिरहेका पनि हुन्छन्। 

अमिताभको घर बाहिर लाग्ने भीड अनुशासित हुन्छ। प्रत्येक आइतबार साँझ उनी एक क्षणको लागि बाहिर आउँछन् र आफ्ना प्रशंसकहरुलाई अभिवादन गरेर जान्छन्।

अम्बानीको घर अगाडिको कबाडी पसल
एसियाकै सबैभन्दा धनी व्यापरी मुकेश तथा नीता अम्बानीको घर एन्टीलियामा भने भीडभाड गर्ने छुट छैन। त्यहाँ ठूलो संख्यामा सुरक्षाबल तैनाथ हुन्छन्। ७२ तलाको उक्त घरमा जम्मा आठ जना बस्छन्। तर यो घर हजारौं जनाको लागि घरव्यवहार धान्ने माध्यम पनि हो। अम्बानीको घरको ढोकाको छेउमा तीन वटा सानो छाप्रो देखेर आश्चर्य मान्न सकिन्छ। यसमा दुइटा खाजा पसल छन् र एउटा कवाडी पसल। उनीहरु सबै गुजराती हुन्।

antaliya1683634106.jpg

अम्बानीको निवास अन्टालिया
कुनै बेला सातवटा द्विपमाथि बसेको मुम्बई सहरमा अहिले पनि पानी पर्न थाल्दा निरन्तर कैयौं दिनसम्म पानी परिरहन्छ। बलिउडको राजधानी मानिने मुम्बई सहरमा गुडिरहेका प्रत्येक गाडीमध्येको तेस्रो भीआईपी नम्बर भएको कार हुन्छ। बाहिरबाट आएकाहरु जब कालो शिशावाला गाडी देख्छन् अनि त्यसमा कुनै फिल्मी हस्ती नै सवार रहेको अनुमान गर्छन्। यहाँ यतिधेरै धनाढ्य मानिसहरु छन्, जसले गर्दा धर्ती नै पनि अनगिन्ती सीताराहरुको आकाशजस्तो हुन्छ।

(बीबीसी हिन्दीका लागि विकास त्रिवेदीले तयार गरेको सामग्रीको भावानुवाद)

प्रकाशित: May 09, 2023| 20:30 मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्