काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे २ करोड रकम मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठबाट दायर मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टीको ‘कोर टिम’ ले साढे २ करोड पैसा मागेको र त्यसको व्यवस्थापन गर्न मेडिकल व्यवसायी प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि साधारण सदस्य नरहने गरी रास्वपाले कारबाही गरेको थियो।
सांसद पदबाट समेत हटाइएका उनी आफूमाथि गरिएको कारबाही कानुनसम्मत नभएको दाबीसहित सर्वोच्च पुगेका थिए।
सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउन आदेश दिएको छ। अन्तरिम आदेशका लागि सर्वोच्चले छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि जोगिएको छ।