काठमाडौं– संघीय राजधानी काठमाडौंमा दिनानुदिन आर्थिक अपराधका घटना बढ्दै गएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंमा आर्थिक अपराधका घटना वृद्धि भएको बताएका हुन्।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा उनले पछिल्लो समय काठमाडौंभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’घटनाका उजुरी बढेको जानकारी दिए।
‘काठमाडौंमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकहाँ आउने गरेका छन्। मासिक झन्डै एक हजार बढी उजुरी आउँछन्। आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ’, उनले भने।
डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको संख्यासमेत बढेको उनको भनाइ छ। काठमाडौं प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गरे।
उनले काठमाडौंको ठमेल, चितवनको सौराहा र कास्कीको बैदाम क्षेत्रलाई २४सै घन्टा सञ्चालन गर्न विगतमा सरकारले योजना बनाएको भन्दै यस क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने बताए। काठमाडौं महानगर–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समाजमा हुने अपराध न्यूनीकरण गर्दै शान्त वडा निर्माणका लागि महानगरले काम गरिरहेको दाबी गरे।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न व्यावसायिक आचारसंहिता बनाएर लागू गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रहरीवृत्त दरबारमार्गका प्रमुख प्रहरी नायब उपरीक्षक कोपिला चुडालले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रलाई समृद्ध बनाउन यस क्षेत्रभित्र देखिएका विकृति अन्त्य गर्नुपर्ने बताइन्। कार्यक्रमका सहभागीले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रको व्यवसायलाई व्यवस्थित गर्नुेपर्नेमा जोड दिए।