काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा प्रमुख दलहरु मिलिजुली एकअर्कालाई जोगाउने काम हुन सक्ने संकत गर्दै त्यसो नगर्न चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद लामिछानेले यो प्रकरणको निष्पक्ष र तटस्थ छानबिन हुनुपर्ने माग गरे।
उनले भने, ‘शरणार्थीको काण्डमा ताप्केको बिँड तात्यो तर तात्दै गरेको ताप्केचाहिँ सेलाएको छ। यो ताप्के नेसेलाओस्। सिंगो देश र अन्तर्राष्ट्रिय क्षेत्रले हेरेको छ। दोषी कोही पनि नउम्कियोस्, मिलिजुली एकअर्कालाई जोगाउने काम नहोस्। हामी यसलाई अत्यन्त नजिकबाट नियालिरहेका छौं।'
रास्वपाकै सांसद असिम शाहले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई कटाक्ष गर्दै छानबिनमा खुट्टा नकमाउन आग्रह गरे।
‘अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थी प्रकरणको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ। अक्सर नेपाली फिल्महरुमा ट्रेलर गजब तर फिल्म झुर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ,’ उनले भने।