बिहीबार, भदौ ४, २०८३

अमरेशकुमारले संसद् बैठकमै कपडा खोलेपछि...

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

काठमाडौं– बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब २५ मिनेट ढिलो सुरु भएको थियो।

सभामुखले बैठक सुरु गरे पनि अगाडि बढाउन सकेका छैनन्। सांसदहरु अमरेशकुमार सिंह र प्रेम सुवालले उठेर अवरोध गरेकाले उनले बैठक अघि बढाउन नसकेका हुन्। सभामुखले बारम्बार बस्न आग्रह गर्दा पनि सांसदहरु बसेका छैनन्।

सभामुखले अशिष्ट व्यवहार गरेको भन्दै सांसद सिंहलाई चेतावनी दिएका छन्। बोल्न नपाएको भन्दै अमरेशकुमारले सर्ट खोलेपछि सभामुखले चेतावनी दिएका हुन्। सांसद सिंहले सुरुमा सर्ट र त्यसपछि गन्जीसमेत खोलेका थिए।

सिंहले बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए। सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र गन्जी लगाएका थिए। संसद्का कर्मचारीहरुको सहयोग लिएर सभामुखले भने, ‘माननीय सदस्य बसौं म तपाईंलाई नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गर्न चाहन्छु। माननीय सदस्य तपाईं अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक व्यवहारहरु नदेखाउनुस्। त्यस्तो अभिव्यक्ति नगर्नुस्। माननीय सदस्य अमरेश कुमार सिंह, जुन व्यवहारहरु देखाइरहनु भएको छ, त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा तपाईंलाई चेतावनी दिन चाहन्छु। तपाईं आफ्नो ठीक ढंगबाट बस्नुस्।’

सभामुखको चेतावनीपछि सांसद सिंहले कपडा लगाएका थिए। त्यसपछि बैठकको नियमित कारबाही सुचारु भएको छ।

शून्य समयमा बोल्ने नेकपा एमालेका सांसद अच्युत मैनालीले कपडा खोल्ने सांसद सिंहको स्वास्थ्य परीक्षण गराउन माग गरेका थिए। 

प्रकाशित: May 08, 2023| 11:30 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्