काठमाडौं- काठमाडौं महानगरपालिकाले आजबाट महानगरभित्रको तार व्यवस्थापन गर्ने भएको छ। आइतबार बसेको बैठकले उक्त निर्णय गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि बसन्तपुर हुँदै असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरिएको हो।
आइतबार बसेको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियरहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल, द इन्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएसन अफ नेपाल (आइएसपीएएन) का कोषाध्यक्ष पुष्कर कडाल, प्रमुख प्रशासकीय अधिकृत सुवेश खड्कासहित महानगरका अधिकारीहरूको सहभागी थियो।