आइतबार, असोज ५, २०८२

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु

 |  सोमबार, वैशाख २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २५, २०८०

म्याग्दी- म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ।  जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ। बेनी अस्पतालका निमित्त प्रमुख डा अञ्जु थापाले आइतबारदेखि फिजियोथेरापी सेवा सञ्चालन भएको जानकारी दिइन्।  फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार हुन्छ। 

Kumaribank

अस्पतालको निर्माणाधीन भवनको भुई तलामा छुट्टै कोठामा फिजियोथेरापी कक्ष स्थापना भएको छ। चार शय्या राखिएको छ। अस्पतालमा दैनिक पाँचदेखि १५ जनासम्म फिजियोथेरापी गर्नुपर्ने बिरामी आउने गरेका छन्। गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी सेवाका लागि आवश्यक उपकरण खरिद गरिएको थियो। फिजियोथेरापीका उपकरण खरिद गर्न प्रदेश सरकारले रु आठ लाख बजेट विनियोजन गरेको थियो। 

अस्पताल व्यवस्थापन समितिले फिजियोथेरापिष्ट चिकित्सक कान्तिलक्ष्मी देवी कटुवाललाई नियुक्त गरेको छ। पछिल्लो समय बिरामीको सङ्ख्या बढेसँगै फिजियोथेरापी सेवा विस्तार गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिए। 

फिजियोथेरापी सेवा लिन यसअघि म्याग्दीका बासिन्दा पोखरा, बागलुङ, काठमाडौँ जाने गरेका थिए। बेनीमै सेवा पाउने भएपछि जिल्ला बाहिर जाँदा हुने समय र रकमको बचत भएको छ। म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने बेनी अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवा विस्तार गरेको छ। साउन यता फिजियोथेरापीका अलावा ज्येष्ठ नागरिक उपचार कक्ष (जेरियाट्रिक वार्ड), अत्याधुनिक एक्सरे, सामाजिक सुरक्षा एकाइको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग उपचार सेवा सुरु गर्ने तयारी गरेको छ। 

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ। मिर्गौला रोगसम्बन्धी समस्या भएका १९ जनाले डायलाइसिस सेवा लिएका छन्। 

Metro Mart

सामाजिक सेवा एकाइमार्फत लक्षित समुदायको सहुलियत र निःशुल्क उपचार सेवा दिइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको रु एक करोड ५० लाख मूल्य बराबरको डिजिटल एक्सरे मेसिन प्रयोगमा ल्याएको अस्पताल परिसरमा अक्सिजन प्लान्ट सञ्चालनमा छ। पचास शय्या क्षमताको अस्पतालले १५ शय्याकै संरचना र पूर्वाधारबाट ७६ शय्याको सेवा दिएको छ। 
 

प्रकाशित: May 08, 2023| 06:33 सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्