बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • परम्परागत ढर्राबाट गोरखापत्र माथि उठ्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

परम्परागत ढर्राबाट गोरखापत्र माथि उठ्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समयको माग र प्रविधिको गतिअनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन्।

गोरखापत्र प्रकाशन थालनीको १२३ औं वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उनले अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरोरुपमा उतार्न संस्थाले अझ जिम्मेवार, व्यावसायिक तथा विश्वसनीय भएर अघि बढाउनुपर्ने बताए। 

डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा पत्रकारिताको यात्रा थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले गोरखापत्रले आफ्नो परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गरेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। ‘राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै सबै नेपालीले स्वामित्व लिने सामग्री पस्किनुपर्दछ। अब सूचनाका लागि मात्र पत्रिका कुर्ने अवस्था नरहेकाले सामग्रीको गुणस्तर र विविधतामा विशेष ध्यान दिनु जरूरी छ’, प्रधानमन्त्री दाहालले भने। 

राज्यका सबै कामकारबाही पारदर्शी हुनुपर्नेमा जोड दिँदै उनले राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चारमाध्यमको नै भएको बताए। ‘नागरिक सुसूचित हुनसक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ’, उनले भने, ‘राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौथो अंगका रूपमा सञ्चारमाध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुन सक्दछ।’ राज्यका हरेक संरचनाको पहरेदारी गर्ने भएकाले सञ्चारमाध्यमलाई ‘वाच डग’का रूपमा लिने गरिएको जनाउँदै उनले सञ्चारमाध्यमको यस भूमिका आगामी दिनमा अझ सशक्त बन्न सक्नुपर्ने बताए। 

सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै उनले आजका सन्दर्भमा आमसञ्चारको भूमिका र योगदान प्रशंसनीय रहेको बताए। ‘गोरखापत्र संस्थान र गोरखापत्रको नेतृत्व सुशासन र समृद्धिको लक्ष्यप्रति जवाफदेही र इमानदार रहेर मात्र आमसञ्चार जगतमा सरकार र सरकारी सञ्चारमाध्यमप्रतिको विश्वसनीयता कायम राख्न र अभिवृद्धि गर्न सकिन्छ’, उनले भने। 

प्रधानमन्त्री दाहालले पछिल्लो समय संस्थानको नेतृत्वको इमान्दारिता र कार्यक्षमतामाथि उठेका प्रश्नको व्यवहारद्वारा प्रतिउत्तर दिन पनि ध्यानाकर्षण गराए। ‘संस्थाको नेतृत्वले जहिले पनि निष्पक्षता, स्वतन्त्रता, संस्थागत एवं पेशागत हित र सुरक्षा, संस्थाभित्र कार्यरत सदस्यको वृत्तिविकास र अभिभावकत्वमा विशेष ध्यान दिनुपर्दछ’, उनले भने। संस्थाप्रति सबैको अपनत्वबोध हुने भौतिक एवं भावनात्मक परिस्थितिको निर्माण गरेर मात्र नेतृत्वले आफ्नो क्षमता प्रस्तुत गर्नसक्ने भन्दै उनले त्यसको बलमा मात्रै संस्थाले थप परिष्करणका साथ उचाइ हासिल गर्न सक्ने बताए। 

नेपाली पत्रकारिताको संस्थागत विकासमा यसको निकै महत्वपूर्ण योगदान रहेको जनाउँदै प्रधानमन्त्री दाहालले राष्ट्रको इतिहास र सभ्यता जोडिएको यो संस्थालाई अहिलको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनर्संरचना आवश्यक रहेको बताए।

‘पछिल्ला दिनमा गोरखापत्र तथा अन्य प्रकाशनको ‘ले–आउट डिजाइन’मा भएको परिवर्तनसँगै यसको सामग्रीको प्रस्तुति र गुणस्तरमा देखिएको सुधार स्मरणीय छ, आगामी दिनमा यसलाई थप परिमार्जित र विकसित तुल्याउने जिम्मेवारीसमेत गोरखापत्रमा आबद्ध सञ्चारकर्मी र कर्मचारीको काँधमा छ’, उनले भने। 

प्रकाशित: May 07, 2023| 12:20 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्