काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलामा महानगरले चालेको कुनै पनि कदम खेर नगएको बताएका छन्।
उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको भन्दै उनले महानगरको कदम सही थियो भन्ने पुष्टि भएको बताए।
'केहीदिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ। टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ,' उनले लेखेका छन्।
शाहले थप लेखेका छन्-'नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको घोषणा गरेको छ। सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदिको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत सङ्घीय सरकारका सम्बद्ध निकायहरूको ध्यानाकर्षण समेत गरेको छ। कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ। तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।'