चितवन- पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको शवलाई आज देवघाटमा अन्त्यष्टी गरिने भएको छ। वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको शवको पाँच दिनपछि अन्त्यष्टी गर्न लागिएको हो।
शवको अन्त्यष्टी गर्नुअघि शवयात्रा निकाल्ने नेपाली कांग्रेस चितवनको तयारी छ। भरतपुर महानगरपालिका–८ स्थित कँडेलको निवासबाट बिहान ११ बजे कांग्रेस पार्टी कार्यालय कमलनगर, नारायणगढ हुँदै देवघाटसम्म शवयात्रा निकालेर अन्त्यष्टी गर्न लागिएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए।
कँडेल चितवन कांग्रेसको पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य थिए। अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका उद्योगी प्रदीप रुङ्गटा र अनमोलकै लेखा प्रमुख जीवन रावलले आफूलाई मर्न बाध्य पारेको कुरा कँडेलले सुसाइड नोटमा उल्लेख गरेका थिए।
कांग्रेस र कँडेलका समर्थकले आत्महत्या दुरुत्साहनका आरोपीलाई तत्काल पक्राउ गर्न माग गर्दै आन्दोलन गरेका थिए। प्रहरीले रावललाई पक्राउ गरिसकेको छ भने रुङ्गटा अझै फरार छन्। रुङ्गटालाई पक्राउ गर्न चितवन प्रहरीले सिआईबी लगायत सबै निकायमा सर्कुलर जारी गरेको छ।